साँग्रिला अर्फनेज होमको २६ औं वार्षिक साधारणसभा २०८१ सालको भदौ महिनामा गोदावरी भिलेज रिसोर्टमा सम्पन्न भएको थियो। यस अवसरमा गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारीले उद्घाटन गर्दै संस्थाको कार्यको प्रशंसा गरिन् र अन्य संस्थाहरूको तुलनामा साँग्रिला अर्फनेज होमले उत्कृष्ट काम गरेको बताइन्। उपमेयर अधिकारीले संस्थाले बालबालिका क्षेत्रमा गरेको कार्यलाई पुण्यको कामको रूपमा मूल्याङ्कन गरिन्।
साँग्रिला अर्फनेज होम २०५५ सालमा स्थापना भएको एक गैर सरकारी संस्था हो, जसले असहाय र अनाथ बालबालिकाहरूको समग्र विकासमा योगदान पुर्याउँदै आएको छ। संस्थाले औपचारिक शिक्षा, व्यवसायिक तालिम, स्वास्थ्य र लैंगिक समानता जस्ता क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थामा हाल ३२ जना बालबालिका रहेका छन्, जसमा १६ जना बालक र १५ जना बालिका छन्। संस्थाले साँग्रिला छात्रवृत्ति परियोजना अन्तर्गत १९२ जना विद्यार्थीलाई साँग्रिला स्कूलमा अध्ययन गर्ने अवसर प्रदान गरेको छ। यस संस्थाले २०८० सालमा १० जना विद्यार्थीलाई एसईईमा सफलता दिलाएको छ।
साँग्रिला अर्फनेज होमका अध्यक्ष यमुना मरासिनीले संस्थाको २६ औं साधारणसभामा सबैको सहयोगको कदर गर्दै आगामी वर्षको साधारणसभामा अझ बढी सफलता प्राप्त गर्ने आशा व्यक्त गरिन्।